नेपाल मन्डल बन्द कार्यक्रम सफल पार्न नेवाः स्वायत्त राज्य मंकाः संर्घष समितिद्वारा प्रचारात्मक सभाको आयोजना
27th May 2009
काठमाडौं । नेवाः स्वायत्त राज्य नेपालमण्डल घोषणा र काठमाडौं उपत्यका शहरी विकास विधेयकको माग गर्दै नेवार समुदायले यही जेठ १८ गते उपत्यका बन्द गरी कालो दिवस मनाउने भएको छ। नेवाः राज्यभित्र गैरनेवारको पनि समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुने तर अग्राधिकार नेवाःलाई दिइने दाबी गर्दै नेवाः स्वायत्त राज्य मंकाः संर्घष समितिले असनमा शनिबार प्रचारात्मक सभाको आयोजना गर्यो।
उक्त प्रचारसभामा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, नेवाः जागरण मञ्चका संयोजक सुजीव वज्राचार्य, नेपाः राष्ट्रिय पार्टीको उपाध्यक्ष नरेशवीर शाक्य, नेवाः राष्ट्रिय मुक्तिमोर्चा काठमाडौंका अध्यक्ष उमेश स्थापितलगायतले नेवार भूमिमा जबसम्म स्वायत्त नेवार राज्य स्थापना हुँदैन तबसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो।
बन्दको अघिल्लो दिन १७ गते मसालजुलुस निकाल्ने संर्घष समितिका सदस्य सुजीव वज्राचार्यले बताउनुभयो। यसैबीच नेकपा एमाले सम्बद्ध नेपाः लोकतान्त्रिक नेवाः संघले नेकपा एमाले स्थायी कमिटीका नेता खड्ग ओलीको प्रमुख आतिथ्यमा एक विचार गोष्ठीको आयोजना गरेको छ।
आदिवासी जनजातिको अधिकार आईएलओ १६९ अभिसन्धिको प्रावधान विषयक सो गोष्ठी नेवाः संघका अध्यक्ष सानुराज शाक्यको सभापतित्वमा भएको थियो।
नेवाः स्वायत्त राज्य मंकाः संर्घष समितिको एक घटक नेवाः जागरण मञ्चले जेठ १८ गते काठमाडौं उपत्यका शहरीकरण विधेयक जलाएर आन्दोलन शुरू गर्ने बताएको छ।
|